मिर्मिरेले श्रृजनशील लघुवित्तलाई गाभ्ने

बनेपा, काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने सम्बन्धि प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष टेक बहादुर बोहरा र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्यामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एक्विजिशन कार्य सम्पन्न गर्न मिर्मिरे लघुवित्तका तर्फबाट सञ्चालक समितिका सदस्य सन्तोष फुया्ल र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सञ्चालक समितिका सदस्य राजकुमार श्रेष्ठ रहेको संयुक्त प्राप्ती समिति गठन भएको छ ।
पूँजीको आधार बलियो बनाई वित्तीय संस्थाको सबलीकरणका लागि नेपाल राष्ट्र बैंकबाट मर्जर तथा एक्विजिशन प्रकृयालाई प्रोत्साहन गर्दै आएको तथ्यलाई मध्यनजर गर्दै प्रचलित कानूनमा भएको व्यवस्था बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी सबल, दीगो र उत्कृष्टस्तरको “घ” वर्गको वित्तीय संस्थाहुने लक्ष्यले एक्विजिशन गर्ने सम्बन्धि प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।
कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले गरेको बन्दाबन्दीकै अवस्थामा मिर्मिरे लघुवित्तले स्वेडा र नागबेली लघुवित्तलाई प्राप्ती गरि एकिकृत कारोबार संचालन भईसकेको छ । राष्ट्रिय स्तरकार्यक्षेत्र रहेको मिर्मिरेको चुक्तापूँजी ४० करोड र ११६ वटा शाखा रहेका छन् । हाल श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी रु. ७ करोड रही २० वटा शाखा सञ्जाल रहेका छन् । एक्विजिशन कार्य सम्पन्न पश्चात चुक्तापूँजी ४७ करोड हुनेछ ।
मिर्मिरे लघुवित्तले यस पूर्व नै सर्वसाधारणका लागि आई.पी.ओ. निस्कासन गरिसकेको छ भने श्रृजनशील र स्वेडाको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफ.पि.ओ.को माध्ययमबाट जारी हुनेछ ।
समझदारी पत्रमा हस्ताक्षर समारोह कार्यक्रममा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका सदस्य सन्तोष फुयाल्ले बन्दाबन्दीकै अवस्थामा दुई लघुवित्त एक्विजिशन गरि सफल एकिकृत कारोबार गर्न सफल भएकाले सो को अनुभवको आधारमा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको एक्विजिशन कार्य समेत निर्दिष्ट समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
दुबै संस्थाका अध्यक्षको संयुक्त अध्यक्षतामा भएको हस्ताक्षर समारोहमा मिर्मिरेको तर्फबाट सञ्चालक संजय श्रेष्ठ र सन्तोष फुयाल् तथा श्रृजनशीलको तर्फबाट सञ्चालक राजकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत बटुक कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।