मर्जरबाट बर्चस्व स्थापीत गर्दै

पछिल्लो समय केही लघुवित्तहरु मर्जरबाटै ठुलो आकारका हुँदैछन् । छोटो समयमा नै मर्जर भएर सफल भएका उदाहरण समेत उनीहरुले प्रस्तुत गरेका छन् । लघुवित्तहरु एक आपसमा गाभिएर ठुलो आकारका बनेसँगै बैंकहरुले नपत्याएका एवं गरिविको रेखामुनी रहेका नागरिकले समेत कर्जा पाउने आशा पाल्न सक्नेछन् । पछिल्लो समय मर्जरमा सफल भएका तथा मर्जरबाटै ठुलो बन्ने रणनीतिमा लागेका तीन ठुला लघुवित्तको यहाँ चर्चा गरिएको छ ।
मर्जरमा सफल मिर्मिरे लघुवित्त
लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच स्वेडा लघुवित्तलाई गाभेर आकार बढाएको मिर्मिरे लघुतित्त वित्तीय संस्थाले लकडाउनकै समयमा पुन नागबेली लघुवित्तलाई गाभेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ भाद्र ७ गते आइतबारबाट एकिकृत कारोबार सुरु गरेको छ । साबिककै बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले छाेटाेे समयमा नै दुइवटा लघुवित्त मर्जर सफल बनाएको छ । यसबाहेक मिर्मिरेले अन्य लघुवित्तलाई समेत गाभ्ने तयारीमा छ । जसले देशको ठुलो लघुवित्तको पहिचान बनाउँदै गरेको र अरुलाई पनि मर्जरमा जान उत्प्रेरित गरिरहेको छ ।
एनआरएन लघुवित्तले आकार बढायो
केहीदिन अघि किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्त मर्जर भई एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैंया पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैंया पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा गएका हुन् । तीन वटै लघुवित्तले बराबर अनुपातमा मर्जरको स्वीकृति लिएका थिए । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड पुगेको छ ।
एन आई सी एशिया र स्वदेशी लघुवित्तको बिग मर्जर हुँदै
हालै राष्ट्रिय स्तरका दुइ लघुवित्त एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले मर्जरमा जाने संझौता गरेका छन् । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा  हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।  एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत कारोबारको लक्ष रहेको छ । बैंकिङ खबर डटकम बाट साभार गरिएको